नेपाल न्युज प्वाइन्ट डटकम
सप्तकोशीमा बेपत्ता दुई जनाको खोजी जारी

इटहरी : यहाँको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी आज पनि जारी रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब ८ः३० बजे खोटाङको केपिलास गढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र उनका भान्जा इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिस आचार्य डुबेर बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले घटनाबारे जानकारी पाउना साथ उद्धारमा प्रहरी खटाइएको बताए ।  गोताखोरसहितको अनुभवी सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजतलास गरिरहेको उनले जानकारी दिए ।

प्रवक्ता खतिवडाले भने, “हिजो पानीको सतह बढेको र धमिलो भएकाले खोजीमा समस्या भएको थियो । आज बिहानैदेखि खोजी भइरहेको छ ।”

सशस्त्र प्रहरी बलका पाँच जनाको तालिम प्राप्त गोताखोरको टोलीसहित ११ जना पौडीबाज बिहानैदेखि खटिएको सशस्त्र प्रहरी बल–४ नम्बर गण सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । उनीहरु बराह क्षेत्र मन्दिरमा पूजागर्न गएका बेला नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update