
चितवन : पुरस्कार ग्रहण गर्न बेलायत पुगेकी भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले युरोपका विभिन्न देशमा पुगेर भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिएकी छन् ।
उनले विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई भेटेर निम्ता दिएकी हुन् । यससँगै त्यहाँका स्थानीय तहका अधिकारीलाई समेत उनले निम्ता दिएकी छन् ।
प्रमुख दाहालले लण्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग भेट गरी भ्रमण वर्ष सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको बताइन् ।
दाहाल ती देशका गैरआवासीय नेपाली संघलगायतका संघसंस्थाहरूका कार्यक्रममा सहभागी भएकी थिइन् । उनी युरोपमा रहँदा नेपाली संघसंस्थाहरूले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भइन् । ती कार्यक्रममा भरतपुर भ्रमण वर्षलाई सफल बनाउन आफूले आग्रह गरेको उनले जानकारी दिइन् ।
उनले युरोपियन पर्यटकलाई नेपाल आउने वातावरण सिर्जना गर्न र प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गरिन् । दाहालले ती देशका सिटी काउन्सिलका प्रतिनिधिसँग भेट गरेकी छन् । रोयल बरो अफ ग्रिन ह्वीच सिटीका उपप्रमुख जित रानाभाट र रुसमुर बरो काउन्सिलका काउन्सिलर धन सार्की तथा नेम थापासँग पनि भेट गरेर भ्रमण वर्षका बारेमा कुराकानी भएको दाहालले बताइन् ।