नेपाल न्युज प्वाइन्ट डटकम
सरकार परिवर्तनको हल्लाको पछाडि नलागौं : कांग्रेस

काठमाडौं : ​नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार परिवर्तनको हल्ला चलाएर अस्थिरता सिर्जना गर्ने प्रयत्न गरिएको बताएका छन् । उनले कांग्रेस अहिले सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट गरे ।

शुक्रबार बसेको बजेट अधिवेशनको पहिलो दिनको प्रतिनिधिसभा बैठकलाई दलीय आधारमा मन्तव्य राख्दै घिमिरेले अहिले मुलुकले स्थिरता र आर्थिक विकास खोजेको बताएका हुन् । 

कांग्रेस–एमालेको संयुक्त सरकार परिवर्तनका हल्ला चलिरहेको समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक घिमिरेले सरकार परिवर्तनको हल्लामा नलाग्न आग्रह गरे ।

‘सरकारका कमी कमजोरी छैनन् भन्ने होइन, सरकारले गति बढाउनै पर्छ । सुशासनको मामिलामा सरकार आक्रामक बन्नुपर्छ । बलियो र शक्तिशाली सरकारको व्यवहारमा महसुस गर्न पाउनु पर्छ,’ घिमिरेले भने, ‘दैनिक रूपमा सरकार ढल्ने हल्लाको पछाडि नलागी तदारुकताका साथ काम गर्न आग्रह गर्दछौं । कांग्रेस नबाहिरिएसम्म सरकार ढल्दैन, कांग्रेस ७ बुँदे सहमतिप्रति प्रतिबद्ध छ । स्थिरताको पक्षमा उभिन्छ ।’

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update