नेपाल न्युज प्वाइन्ट डटकम
मस्कोमा आतंककारी आक्रमणमा ९० जना बढीको मृत्यु

एजेन्सी : मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले शनिबार बताएका छन् । शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा ९० जनाभन्दा बढीको मृत्यु भएको रूसको अनुसन्धान समिति (आइसीआर) ले पुष्टि गरेको छ । 

आतंकवादी आक्रमणका कारण ९० जनाभन्दा बढीको मृत्यु भएको प्रारम्भिक पुष्टि आइसीआरले गरेको हो । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले शनिबार बताएको छ । आन्तरिक मामिला मन्त्रालय र सङघीय सुरक्षा सेवाको परिचालन एकाईहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ ।

मृतकको शवको जाँच भइरहेको छ भने अपराध स्थलबाट हतियार र गोलाबारुदसहितका सामग्री प्रमाणस्वरूप जफत गरिएको छ । घटनास्थलमा रहेका आरआईए नोभोस्ती समाचार संस्थाका सम्वाददाताका अनुसार नकावधारी आक्रमणकारीले शुक्रबार एक्कासी भवनभित्र पसेर गोली चलाउनुका साथै भीडमा विस्फोटक पदार्थ फ्याँकेका थिए । 

मस्कोको उत्तरी क्रास्नोगोस्र्क उपनगरमा रहेको क्रोकस सिटी हलमा आक्रमणपछि धुँवाको मुस्लो भरिएको र त्यसपछि आगोको ज्वाला फैलिएको थियो । आक्रमण हुँदा घटनास्थलमा पुगेका संगीतकर्मी एलेक्सीले भन्नुभयो, कन्सर्ट सुरु हुनुभन्दा केही समय पहिले एक्कासी गोली र भीडमा व्यापक कोलाहल सुनिएको थियो । होहल्लाको लगत्तै त्यहाँ स्वचालित हतियारबाट गोली चलाइएको थाहा भयो । उनले भने, “सम्भवतः यो रूसको इतिहासमा निकै विनाशकारी आतंककारी आक्रमणमध्ये एक हो ।” 

मानिसहरु आपतकालिन निकासतर्फ दौडिदै गर्दा कन्सर्टमा जानेहरु एक अर्काको टाउकोमा चढेर बाहिर निस्किएको उनले बताए । रूसी समाचार संस्थाका अनुसार रूसको अनुसन्धान समितिले शनिबार ६० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले पाँच बालबालिकासहित ११५ जनालाई अस्पताल भर्ना गरिएको र तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको जानकारी दिए । 

आक्रमणमा घाइते भएका ११० जना वयस्क व्यक्तिमध्ये ६० जनाको अवस्था गम्भीर छ । राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी समाचार एजेन्सीहरूलाई बताएअनुसार अधिकारीहरूले ‘आतंकवादी’ अनुसन्धान शुरु गरिएको बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणपछि ‘निरन्तर’ घटनाबारे जानकारी लिइरहेको बताइएको छ । 

रूसको नेसनल गार्डले घटनास्थलमा रहेको र आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । एएफपीका एक संवाददाताले खोजी कुकुरसहित प्रहरी अधिकारीहरूले भवनको छेउमा पार्किङ गरिएका सवारी साधनहरूको निरीक्षण गरिरहेको देखेको बताए । इस्लामिक स्टेट समूहले आफ्ना लडाकुहरूले मस्कोको बाहिरी इलाकामा ‘ठूलो जमघट’ मा आक्रमण गरेको र सकुशल आफ्नो अखडामा फर्किएको बताएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update