
काठमाडौं : सुन तस्करी प्रकरणमा अनुसन्धानमा संलग्न प्रहरी अधिकारी र कर्मचारीलाई कारबाही गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।
कारबाही सिफारिसमा परेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि थप छानबिन र कारबाहीका लागि अर्को समितिले बनाइएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयको कानून महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा तीन सदस्य समिति बनाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल र उपसचिव रामबहादुर शाही सदस्यहरू छन् ।
रिजाल नेतृत्वको समितिले उच्चस्तरीय सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर कसलाई के कारबाही गर्ने भन्ने सिफारिस गर्नेछ ।
१ चैतमा गृह एवम् उपप्रधान मन्त्री रवि लामिछानेलाई पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सीआईबीका चार प्रहरी अधिकृतलाई विभागीय कारबाहीका लागि सिफारिस गर्नुका साथै अनुसन्धानमा खटिएका सबै प्रहरीहरुको सरुवा गर्नुपर्ने उल्लेख गरेको थियो ।