नेपाल न्युज प्वाइन्ट डटकम
ललितपुर घटना : पक्राउ परेका ४ आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान

काठमाडौं : ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनाका आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो । हत्या हुनेहरुमा पाँचथर घर भइ खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राई रहेका छन् ।

पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ भने घटनामा संलग्न रहेको आरोप लागेका थप एक जना भने फरार छन् ।

प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई, सोही ठाउँका सुलभ राई, भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो । पाजु गुरुङ भन्ने व्यक्ति फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । यस घटनामा अनुसन्धानका लागि थप ८ जनालाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update