काठमाडौं : एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेटका क्रममा नेपाललाई लगानीको प्राथमिकतामा राखिएको जनाएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा अर्थमन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए । जवाफमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका एआईआईबी निर्देशक आरएमपी रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा स्रोतको उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइने बताए ।
पचास प्रतिशत पूँजी निजी क्षेत्रको साझेदारीमा परिचालन गर्ने एआईआईबीको नीतिअनुसार नेपालको निजी क्षेत्रसँगको साझेदारीमा काम गर्न अर्थमन्त्री पुनले आग्रह गरेका थिए । जवाफमा रथनायेकेले बहुवर्षीय आयोजनाको छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्न सकिने औंल्याए ।
अर्थमन्त्री पुनले आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि एआईआईबीलाई निम्ता गरे । निर्देशक रथनायेकेले लगानी सम्मेलनमा उच्चस्तरबाट सहभागिता जनाइने प्रतिबद्धता जनाए ।
अर्थमन्त्री पुनले नेपालसहित मध्यम आर्थिक अवस्था भएका विकासोन्मुख मुलुकका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न पनि एआईआईबीसँग आग्रह गरे । एआईआईबीको ब्याजदर तुलनात्मक रुपमा महँगो भएकाले नेपालले अपेक्षित रुपमा ऋण लिन नसकेको उनको भनाइ थियो ।
अर्थमन्त्री पुनले नेपाल एआईआईबीको संस्थापक सदस्य भए पनि महँगो ब्याजदरका कारण सोचेजति लाभ लिन नसकेको बताए । नेपालमा पूर्वाधार विकासमा धेरै काम गर्न बाँकी रहेकाले सहुलियतपूर्ण ऋण जरुरी हुने मन्त्री पुनले बताए । सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै आन्तरिक स्रोतको सीमितताका कारण बाह्य स्रोत जुटाउन आवश्यक रहेको उनको भनाइ छ ।
अर्थमन्त्री पुनले पूर्वाधार विकाससहित जलविद्युत, पर्यटन र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न टोलीलाई आग्रह गरे । जलविद्युतका लागि क्षेत्रीय बजारको सुनिश्चितता भएकाले सो क्षेत्र लगानीका लागि आकर्षक रहेको उनले औंल्याए ।
भारतसँग १० हजार मेगावाट विद्युत निर्यात गर्ने सहमति भएको जानकारी दिँदै मन्त्री पुनले विद्युत बजारको समस्या नरहेको स्पष्ट गरे । यस्तै, बंगलादेशसँग पनि विद्युत व्यापार सम्झौता भएको र ४० मेगावाट बिजुली छिट्टै बंगलादेश निर्यात गर्न लागिएको उल्लेख गरेका थिए । आगामी सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्नुपर्ने उल्लेख गर्दै उक्त लक्ष्य प्राप्त गर्न नेपालमा लगानी विविधिकरण गर्न उनको आग्रह थियो ।
यस्तै, नेपालले विकास आयोजनामा जलवायु वित्तको परिचालन गर्ने सोच बनाइएकाले त्यसका लागिसमेत सहयोग गर्न मन्त्री पुनले आग्रह गरे । एआईआईबीको दक्षिण कोरियाली कम्पनी प्रमुख लगानीकर्ता रहेको दुई सय १६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ४० मिलियन अमेरिकी डलर बराबरको लगानी छ । यस्तै, लुम्बिनी र कर्णाली प्रदेशमा निर्माणाधीन केही विद्युत प्रसारण लाइनमा पनि एआईआईबीले लगानी गरेको छ ।