नेपाल न्युज प्वाइन्ट डटकम
नेपाली महिला क्रिकेट टिमले एसिया कप खेल्ने, पहिलो खेल पाकिस्तानसँग

काठमाडौं : नेपाल महिला राष्ट्रिय क्रिकेट टिमले एसीसी महिला एसिया कप २०२४ खेल्ने भएको छ । आगामी साउन ४ देखि १३ गतेसम्म श्रीलंकामा हुने एसिया कप महिला क्रिकेटमा नेपालले पनि सहभागिता जनाउने नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार जानकारी दिएको छ ।

गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल एसिया कपमा स्थान बनाउनबाट वञ्चित भएको थियो । प्रिमियर कपमा फाइनल खेलेका दुई टोली युएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका छन् । तर एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर नेपाललाई प्रतियोगितामा समावेश गरेको हो ।

एसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले उद्घाटन खेलमै पाकिस्तानको समना गर्ने छ । नेपाल समूह ‘ए’मा रहेको छ । यस समूहमा नेपाल र पाकिस्तानसँगै भारत र यूएई रहेका छन् । यस्तै समूह ‘बी’मा आयोजक तथा साविकको उपविजेता श्रीलंकासँगै बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् ।

नेपालले समूह चरणको पहिलो खेल जुलाई १९ मा पकिस्तानसँग खेल्ने छ । यस्तै, दोस्रो खेल जुलाई २१ मा यूएईसँग खल्ने छ । समूह चरणको अन्तिम खेलमा नेपालले जुलाई २३ मा भारतसँग खेल्ने छ । दुई समूहको विजेता र उपविजेता टोलीले सेमिफाइनल खेल्ने छन् । सेमिफाइनका विजेता टोलीले उपाधिका लागि खेल्ने छन् ।

यो नेपाली महिला टिमको एसिया कपमा तेस्रो सहभागिता हुनेछ । नेपालले यसअघि २०१२ र २०१६ मा टि–२० एसिया कप खेलेको थियो । यसपटकको एसिया कप पनि टी–२० फर्म्याटमा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update