
रोल्पा : आदिवासी जनजाति मगर खाम भाषी समुदायका विद्यालयका विद्यार्थीहरुले आफ्नै रैथाने मातृभाषामा यस वर्षको वार्षिक परीक्षा दिएका छन् ।
रोल्पाको सुनछहरी गाउँपालिकाका आदिवासी जनजाति मगर खाम भाषी समुदायका विद्यालयमा भर्ना भएका १ हजार बालबालिका विद्यार्थीहरूले आफ्नै रैथाने मातृभाषामा परीक्षा दिएका हुन् ।
सुनछहरी गाउँपालिकाले स्थानीय पाठ्यक्रम कक्षा १ देखि कक्षा ८ सम्म तयार गरी कक्षा १ को पाठ्यपुस्तक गेमी सुनछहरी नामक किताब तयार गरेको थियो । सोहीअनुसार यस वर्ष ३३ वटा विद्यालयका कक्षा १ मा भर्ना भएका विद्यार्थीले आफ्नै मगर खाम भाषामा पठनपाठन गरी परीक्षा दिएका हुन् ।
सुनछहरी गाउँपालिकाले आफ्नो रैथाने मातृ भाषा जोगाउन र पुस्तान्तरण गर्न कक्षा ८ सम्म आफ्नै मातृभाषामा विद्यार्थीलाई पठनपाठन गराउने योजना बनाएको छ . गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०८१/ ०८२ देखी प्रशासनिक कामकाज नेपाली भाषा र मगर खाम भाषाबाट गर्ने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए । रोल्पा जिल्लामा अन्य जातजाति समुदायको भन्दा मगर भाषीहरूको बाहुल्यता बढी रहेको छ ।