
काठमाडौं : सरकारले सहसचिव डा.हरिप्रसाद लम्साललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ३ जनामध्येबाट लम्साललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले तीनजना सहसचिवहरू डा. हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस गरेको थियो । लम्साल सुदूरपश्चिम प्रदेश सरकारका कायमुकायम (कामु) प्रमुख सचिवको जिम्मेवारीमा रहेका थिए ।
यस्तै बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।
यस्तै बैठकले चालु आर्थिक वर्ष २०८०–८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल दुई हजार ७०७ रुपैयाँ २८ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ भने १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको छ ।