नेपाल न्युज प्वाइन्ट डटकम
दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे छानबिन गर्न समिति गठन

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयले समिति बनाएको हो ।

समितिको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डे छन् । मन्त्रालयकै कानूनतर्फका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई, गृह मन्त्रालयका उसपसचिव एकदेव अधिकारी समितिका सदस्य छन् ।

जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईको नाममा इजाजतपत्र नम्बर १०१३१ मा जारी भएको २२ बोर ए३५४७५२ नम्बरको हतियारको इजाजतपत्र तथा त्यसको नवीकरण सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न समितिलाई कार्यादेश दिइएको छ ।

गत चैत ५ गते दुर्गा प्रसाईंका दुई बडिगार्डलाई  प्रहरीले सर्वोच्च अदालत परिसरबाट स्वचालित हतियार र १०० राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतले चैत १३ गते खड्का र धिमालले अनुमति प्राप्त हतियार बोकेकाले रिहा गर्न आदेश दिएको थियो । यस्तै अदालतले लाइसेन्स लिएर समेत राख्न नमिल्ने स्वचालित हतियार कसरी प्रसाईंले लाइसेन्स प्राप्त गरे भन्नेबारे छानबिन गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update