नेपाल न्युज प्वाइन्ट डटकम
गृहमन्त्री लामिछानेबारे प्रहरी प्रमुखको जवाफले संशय पैदा भयो : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछनेमाथि सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेसको तर्फबाट धारणा राखेका सांसद सञ्जय गौतमले गृहमन्त्री लामिछनेमाथि सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग गरेका हुन् ।

सांसद गौतमले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेका सम्बन्धमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले दिएको जवाफले संशय पैदा गरेको बताए । प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटना क्रमले संशय पैदा भएको उनको भनाइ थियो ।

सांसद गौतमले गृहमन्त्री लामिछानेमाथि कानूनी र नैतिक प्रश्न उठेको बताए । प्रधानमन्त्रीले ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नहरूलाई जोगाएर सुशासनको कुरा गरिरहेको पनि उनले आरोप लगाए ।

प्रधानमन्त्री र प्रहरी प्रमुखले सहकारी ठगीमा गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिन खोजेको भन्दै उनले असन्तुष्टि जनाए ।

चैत १४ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरले पोखरास्थित सूर्यदर्शन सहकारीको ठगीमा लामिछाने निर्दोष रहेको बताएका थिए । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको बचाउ गर्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update