
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री शर्माले यही चैत २० गते मंगलबार विश्वासको मत लिने भनेर प्रदेश सभा सचिवालयलाई जानकारी गराइसकेका छन् ।
केन्द्रको समीकरण बदलिएसँगै कर्णाली सरकारका सहभागी नेपाली कांग्रेसले गत फागुन २२ गते सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरूप मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिन लागेका हुन् ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद चाहिन्छ । गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० र नेकपा एकीकृत समाजवादीको एक गरी २४ जना सांसद छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।