नेपाल न्युज प्वाइन्ट डटकम
गुजरातविरुद्ध नेपाल विजयी

काठमाडौं : त्रिकोणात्मक टी–२० शृंखलाअन्तर्गत भारतको गुजरात विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । नेपालले गुजरातलाई आठ विकेटले हराएको हो । 

गुजरातको वापीमा नेपालले आज टस जित्दै पहिला फिल्डिङ रोजेको थियो । गुजरातले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १८ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर ९८ रन बनायो । गुजरातका लागि रुद्र पटेलले सर्वाधिक २३ रन बनाए । यस्तै हेमाङ्ग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाइले ११ तथा स्मित पटेलले १० रन बनाए । बलिङतर्फ नेपालका गुल्सन झाले चार, करण केसीले तीन तथा सोमपाल कामीले एक विकेट लिए । 

नेपालले ९९ रनको विजयी लक्ष्य १५ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ३३ रन बनाए । यस्तै  अनिलकुमार साहले अविजित ३२, कुशल भुर्तेलले १७ तथा आसिफ शेखले १६ रन बनाए । बलिङतर्फ गुजरातका हेमाङ्ग पटेल र तेजस पटेलले  एक एक विकेट लिए । नेपालले दोस्रो खेल मंगलबार भारतको बरोडा क्रिकेट संघसँग खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update