काठमाडौ : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । सोमबारदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य लिटरमा चार रुपैयाँले बढाएको हो । नयाँ मूल्यसूचीअनुसार अब एक लिटर पेट्रोलको मूल्य बिराटनगर, जनकपुर, वीरगञ्जमा एक सय ७२ रुपैयाँ ५० पैसा पर्ने छ ।
यस्तै, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा प्रतिलिटर एक सय ७४ रुपैयाँ र तेस्रो वर्ग अर्थात् काठमाडौं, पोखरा, दिपालयमा एक सय ७५ रुपैयाँ पर्ने निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको जनाएको छ । निगमकाअनुसार आइओसीबाट नयाँ खरिद मूल्य पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ७६ पैसा बढाएको छ भने डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य भने घटेर आएको छ ।
आइओसीले डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य पठाएको हो । तर, निगमलाई ग्यासमा अझै पनि २९६ रुपैयाँ १५ पैसा घाटा भएकाले ग्यास, डिजेल र मट्टीतेलको मूल्य यथावत राखिएको जनाएको हो ।