नेपाल न्युज प्वाइन्ट डटकम
आयरल्याण्ड वुल्भ्समाथि नेपाल 'ए'को ३ रनको जित

काठमाडौं : नेपाल 'ए'ले तेस्रो टी-२० खेलमा आयरल्याण्ड वुल्भ्सलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले आयरल्याण्ड वुल्भ्सलाई ३ रनले पराजित गरेको हो । तीन खेलको सिरिज भने नेपालले २-१ ले गुमाएको छ । पहिलो खेलमा नेपाल आयरल्याण्ड वुल्भ्ससँग २१ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

सोमबारको खेलमा २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रनमात्र बनाउन सक्यो । आयरल्याण्डका ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मोर्गन टोपिङले ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रन बनाए । 

आयरल्याण्डका ओपनर रस आडैरले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ तथा फिन ह्यान्ड २२ रनमा आउट भए । नेपालका विपिन खत्रीले ३ विकेट लिँदा कमल सिंह ऐरी, नारायण जोशी र रसिद खानले एक-एक विकेट लिए ।

त्यसअघि टस हरेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ९३ रनको अर्धशतकीय इनिङ खेले । आरिफ ४८ बलमा ७ चौका र ६ छक्काको सहयोगमा ९३ रनमा अविजित रहे ।

राशिद खान २४, बसिर अहमद १९, पवन सर्राफ १३ र विनोद भण्डारी ११ रनमा आउट हुँदा कमलसिंह ऐरी १९ रनमा अविजित रहे । आयरल्याण्डका फिओन ह्यान्डले सर्वाधिक ३ विकेट लिए । लियाम म्याकार्थी र ग्यारेथ डेलानी, म्याथ्यू फोस्टर र गेभिन होईले १-१ विकेट लिए ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update