नेपाल न्युज प्वाइन्ट डटकम
सहकारी प्रकरणमा श्रममन्त्री अर्याल पनि संलग्न रहेको कांग्रेसको आरोप

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लगाएको छ ।

रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउन निरन्तर माग गर्दै आएको कांग्रेसले रास्वपाकै उपसभापतिसमेत रहेका श्रममन्त्री अर्याल पनि जोडिएको भन्दै प्रश्न उठाएको हो ।

मंगलबारको प्रतिनिधिसभामा कांग्रेस सांसद रामकृष्ण यादवले सहकारी ठगी प्रकरणमा श्रममन्त्री अर्याल पनि जोडिएको समाचार आएको भन्दै छानबिन समिति माग गर्नुको औचित्य थप पुष्टि भएको बताए ।

उनले भने, 'रास्वपा उपसभापति तथा श्रममन्त्री डीपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी रकम फिर्ता नपाएको विषय छ। अर्याल मात्रै होइन रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए। सो सहकारीमा पनि गोर्खा मिडियाका अध्यक्ष जिवी राईलाई भित्र्याइएको छ। त्यो भित्र्याउने काम श्रममन्त्री लगायतको हो भन्ने आरोप छ ।'

उनले प्रधानमन्त्री र प्रहरी प्रमुखले नै छानबिन आवश्यक नभएको बताएपछि अनुसन्धान प्रभावित हुने आशंका बढेको बताए ।

यादवले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेका आरोपमाथि निष्पक्ष छानबिन गरी आफूलाई निर्दोष प्रमाणित गर्न चुनौती दिए । अन्यथा यो दागले जीवनभर लामिछानेलाई नछाड्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update