नेपाल न्युज प्वाइन्ट डटकम
यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत कायम रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं : विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै चालु आर्थिक वर्षमा ३.३ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको छ । 

पाँच महिनाअघि बैंकले यो वृद्धि ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो । बैंकले आज आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आगामी आवमा देशको आर्थिक वृृद्धि चार दशमलव ६ प्रतिशत हुने प्रक्षेपण पनि गरेको छ । 

पर्यटन सेवा र औद्योगिक क्षेत्रको योगदानसहित ऊर्जा र विप्रेषणको क्षेत्रमा भएको सुधारलाई आधार मानेर बैंकले उक्त प्रक्षेपण गरेको हो । आर्थिक परिदृश्य सार्वजनिक गर्दै मालदिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदाद जर्भोशले पुँजीगत खर्च विस्तार, व्यावसायिक मनोबल  वृद्धि र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता वृद्धि र गरिबी घटाउन भएका प्रयास सराहनीय रहेका बताए । 

उनले रोजगारी सृजना, व्यापारमा खुलापनको वृद्धि, व्यावसायिक वातावरण र संस्थाहरुको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार र महिला अधिकारको कानुनी संरक्षणको सुदृढीकरण गर्न सुझाए । उनले रोजगारी वृद्धि र उत्पादन बढाउन तथा जलवायु अनुकूलनमा सार्वजनिक लगानीका निम्ति आधार तयार गर्न आवश्यक भएकामा जोड दिए ।

नेपालले आर्थिक विकासका निम्ति गरेको सुधार सराहनीय रहेको भन्दै देशीय निर्देशक जर्भोशले तीन तहकै सरकार मिलेर निजी लगानी प्रवर्द्धनमा सघाउनुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update