
काठमाडौं : नेपाल एसएमएस फ्रेन्डसिप कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार गुजरात क्रिकेट एशोसिएसनलाई ८ रनले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको हो ।
नेपालले तीन खेलबाट ६ अंक जोड्यो । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि नेपालले बरोडा क्रिकेट एशोसिएसनलाई २७ रनले हराएको थियो ।
१८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो । गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए । अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रियस पटेलले १७ रन बनाए । हर्ष देशाईले १६ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे ।
नेपालका सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८१ बनाएको थियो । नेपालका शुरुवात उत्कृष्ट रह्यो । दुवै ओनपरले पहिलो विकेटका लागि एक सय २५ रनको साझेदारी गरे । शुरुवात राम्रो भए पनि नेपाली ब्याटरले फिनिसिङ गर्नबाट भने चुके ।
पहिलो विकेटका रुपमा नेपालले कुशल भुर्तेललाई गुमायो । उनले दुई छक्का र नौ चौकाको सहयोगमा ६७ रन बनाए । अर्का ओपनर आशिफ शेखले ८५ रनको योगदान दिए । उनले ५१ बल खेल्ने क्रममा पाँच छक्का र १० चौका प्रहार गरे ।
तर अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् । कप्तान रोहित पौडेलले तीन रन बनाए भने सन्दीप जोराले दुई रनमात्रै बनाए । कुशल मल्लले एक, गुलशन झाले चार रन बनाए । अनिल शाह शून्यमा आउट भए भने विवेक यादव सात रन र प्रतीस जिसी चार रनमा अविजित रहे । गुजरातका लागि जयमित पटेलले तीन विकेट लिए भने आर्या देसाइ र ध्रुशान्त सोनीले २-२ विकेट लिए ।