नेपाल न्युज प्वाइन्ट डटकम
सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यू

सुनसरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ  ।

कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ । 

यहाँका स्थानीय समुदायका दुई पक्षबीच झडप भइ तनावपूर्ण स्थिति सिर्जना भएपछि शान्ति सुरक्षा कायम गर्ने हेतुले सो सूचना जारी गरिएको बताइएको छ ।

हरिनगर गाउँपालिका-१ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । कुटपिट भएको विषयमा आज दुई समूहबीच झडप भएको थियो ।

शुक्रबार भएको झडपमा परी चार जना घाइते भएका छन् । जसमा दुई जनालाई गोली लागेको छ । स्थीति नियन्त्रणका लागि प्रहरीले चार दर्जनभन्दा बढी अश्रुग्याँस र हवाई फायर गरेको थियो ।

निषेधित स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला जम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न र नगराउन प्रशानले जारी गरेको  कर्फ्यू  आदेशमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update