नेपाल न्युज प्वाइन्ट डटकम
इलाम क्षेत्र नं २ उपनिर्वाचन : सात जनाको मनोनयन दर्ता

इलाम : आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराउनुभएको छ । सुहाङसहित हालसम्म सातजनाले मनानयन दर्ता गराइसकेका छन् ।

बाजागाजा र झाँकीसहित निर्वाचन कार्यालयमा पुगेका सुहाङको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा रमण रहेका छन् । सुहाङले मनोनयन दर्तामा जानुअघि भानुरत्न चोक इलाममा रहेको सहिद रत्नकुमार वान्तवा, सहिद बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)ले मनोनयन दर्ता गराएका थिए ।

यस्तै, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गराएका छन् । डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् । पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिमले मनोनयन दर्ता गराएका छन् । एकीकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराएका छन् ।

रास्वपाबाट केही बेरमा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसले मनोनयन दर्ता गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम क्षेत्र नं २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update