
काठमाडौं : नेपालको राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा रोडरिक इस्टविक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सामाजिक सञ्जालमार्फत इस्टविकलाई बलिङ कन्सलट्यान्ट नियुक्त गरिएको जानकारी दिएको हो ।
क्यानले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपलाई लक्षित गरेर इस्टविकलाई बलिङ कन्सलट्यान्टमा नियुक्त गरेको हो ।
६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इण्डिजको बी टीमको प्रशिक्षक थिए । बार्बाडोसका तीव्र गतिका बलरले वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेपनि घरेलु क्रिकेट भने खेलेका छन् । उनले ३७ प्रथम श्रेणी र ४२ लिस्ट ए क्रिकेट प्रतियोगिता खेलेका छन् ।
प्रथम श्रेणीका ४९ खेलमा उनले ३७६ रन बनाएका छन् भने १४१ विकेट लिएका छन् । लिस्ट ए का ४२ खेलमा उनले १०० रन बनाउँदा ४३ विकेट लिएका छन् ।
इस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीको बलिङ प्रशिक्षकको रुपमा पनि काम गरेका छन् । उनले सन् २०१६ देखि २०२२ मा पटक पटक वेस्ट इन्डिजको जिम्मेवारी सम्हालेका थिए ।
इस्टविकले नेपाली क्रिकेटसँग जोडिन पाउँदा गर्वको अनुभव गरेको बताए । नेपाली क्रिकेटको प्रगतिलाई आफूले हेरिरहेको भन्दै उनले आफूले सक्दो सहयोग गर्ने बताए ।