नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीको तेस्रो स्थानमा

काठमाडौं : काठमाडौं वायु प्रदूषण संसारभरीकै खराब बनेको छ । संसारभरको वायु प्रदूषण रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा पुगेको हो । पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छ ।

सोमबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक एक्यूआई १७३ छ । यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । १५१ देखि २०० एक्यूआईलाई रातो रंगले चित्रित गरी अस्वस्थकर मानिन्छ । नयाँदिल्लीको एक्युआई २४४ छ । यो अत्यन्तै अस्वस्थकर हो । २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।

२०७७ साल चैतमा काठमाडौंको वायु प्रदूषण उच्च भएपछि सरकारले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।नेपालमा वायुको गुणस्तर मापन गर्ने विभिन्न स्टेसनहरु छन् । तीमध्ये ललितपुरको खुमलटारमा वायुको गुणतस्तर अत्यन्तै अस्वस्थकर देखिएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरण विभाग अन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार बिहानपख खुमलटारको वायु गुणस्तर सूचकांक एक्यूआई २१० पुगेको थियो । खुमलटार क्षेत्रमा अत्यन्त अस्वस्थकर वायु रहेको जनाउ दिन यसलाई भान्टा रंगले चित्रित गरिएको छ । यसैगरी रत्नपार्कको १७२, शंखपार्कको १६६, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १६६, भैंसेपाटीको १६५, भक्तपुरको १६० र धनकुटाको १५२ छ ।

वायु प्रदूषण बढ्नुमा विभिन्न कारणहरु हुन्छन् । नेपालमा प्राय चैतदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने गर्दछ । वायु प्रदूषण बढ्नुमा डढेलो एक महत्वपूर्ण कारण हो । अर्को कारक पर्याप्त वर्षा नहुँदा र हावा नचल्दा वायुमण्डलमा धुवाँ र धुलोको मात्रा बढी हुनु पनि प्रदूषणको कारण हो । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update