-नरेन्द्र राना
कति टाढा पुगेको छु
थाह छैन
मैले नापेको छैन
मैले सोधेको छैन
आज
एक्कासि
ऐनामा हेरें
अर्कै लाग्यो
म कस्तो थिएँ
कस्तो भएँछु
एकछिन सोचें
पहिलेको म
कस्तो रहेंछु
साना बाटाहरू पनि
ठुला र फराकिला लाग्थे
माटोले बनाएका घरहरू पनि
अग्ला र विशाल लाग्थे
आफ्ना वरिपरि
हजुरबाबा हजुरआमा
बाबा आमा
काका काकी
दाइ दिदी
सबै सबै
बुद्धिमान
र जान्ने लाग्थे ।
केही भन्न हुँदैनथ्यो
पीर पर्यो कि
आँसुले भल छोड्थ्यो
चकलेट वा च्याँइपापा
मात्र पाउन पर्थ्यो
खुसीले भुइँ छोड्थ्यो
सपना
ठुला थिएनन्
लक्ष्य
टाढा थिएनन्
सानो झ्यालबाट
घोप्टिएको आकाशभित्रको
पहाड खोंच नै विशाल लाग्थ्यो
क्षितिजचाहिं कथामा भनेजस्तो
स्वर्ग पुग्ने ठाउँ लाग्थ्यो
गाउँको चित्र
कहिलेकाहीं
सपनामा आउँदा
स्वर्ग छोडेर
अन्तै हिडे झैं
आज लागेको छ
उही मान्छे
हो कि हैन
बेस्मारी शंका लागेको छ ।