
काठमाडौं : राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसकातर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा एमालेका तर्फबाट बिमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी छन् । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहेका छन् ।
यस्तै नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छन् । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् । उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो ।
उम्मेदवारी दर्ता गर्रापछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार घिमिरेले आफूलाई मतदान गरी निर्वाचित गराउन आग्रह गरिन् । उनले राष्ट्रिय सभालाई अध्यक्षसँग सल्लाह गरेर सभालाई थप मर्यादित बनाउने र विधेयकलाई छिटोछरितो पास गराउन सम्पूर्ण रुपमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।
यस्तै, कांगेसका तर्फबाट उम्मेदवारी दर्ता गराएकी पुडासैनीले राष्ट्रियसभालाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने बताइन् । आफूले स्थानीयरुपमा पनि काम गरेको जानकारी दिँदै उनले उम्मेदवार बनाउने निर्णय गर्ने पार्टीलाई समेत धन्यवाद दिइन् । उनले जनताको मन छुने खालका ऐन, कानून बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दै सबै आफ्नै साथीभाइ भएकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरिन् ।