नेपाल न्युज प्वाइन्ट डटकम
कृषि विकास निर्देशनालयका निमित्त कार्यालय प्रमुख पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा पोखरेलसहित निर्देशनालयकै कृषि इन्जिनियर विश्वनाथ पौडेल, तत्कालीन कृषि अर्थविज्ञ (शाखा प्रमुख) भानुभक्त भट्टराई, स्याङ्जाको गल्याङ नगरपालिका-३ स्थित पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने, सचिव परसुराम खनाल र कोषाध्यक्ष उमा श्रेष्ठ तथा स्थानीय श्रीप्रसाद श्रेष्ठविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुले स्याङ्जाको गल्याङ नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनि कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरी भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको अख्तियारको ठहर छ । उनीहरुले एउटा जग्गाधनी प्रमाणपुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेको लगायतका अनियमितता गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियारले उनीहरुविरुद्ध २८ लाख ३७ हजार २१७ रुपैयाँ बराबरको विगो दाबी गर्दै कैद सजायको मागदाबी लिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update