
काठमाडौं : ओमानमा हुने एसीसी प्रिमियर कपका लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले नेपालको अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको हो । नेपाली टिममा सबै भारतमा एसएमएस फ्रेन्डसिप कप खेलेका खेलाडी छन् । तर भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन् ।
प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् ।
नेपालले पहिलो खेल मलेसियासँग चैत ३० गते खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल कतारसँग वैशाख १ गते, तेस्रो खेल हङकङसँग वैशाख ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ । समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल खेल वैशाख ७ गते हुनेछ भने फाइनल खेल वैशाख ९ गते हुनेछ ।
यस प्रतियोगितामा विजेता हुने टिमले सन् २०२५ मा हुने एसिया कप खेल्ने पाउनेछ । यसपटकको एसिया कप टी-२० फर्म्याटमा हुने भएकाले प्रिमियर कप पनि टी-२० फर्म्याटमा नै हुनेछ । यस्तै यस प्रतियोगिताको शीर्ष ३ टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् ।
नेपालको टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी र अभिनाश बोहरा रहेका छन् ।