काठमाडौं : सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा प्यूठान जिल्लाको ऐरावति गाउँपालिका आवद्ध भएको छ । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने सरकारको विशेष योजना अन्तर्गत प्यूठान जिल्लाको ऐरावति गाउँपालिका पुस २९ गतेबाट कोषमा आवद्ध भएको हो ।
सामाजिक सुरक्षा कोषका तर्फबाट कोषका उपकार्यकारी निर्देशक विवेक पन्थी र ऐरावति गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष नबिल विक्रम शाहले संयुक्तरुपमा कोषको केन्द्रीय कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।
ऐरावति गाउँपालिकाका अध्यक्ष शाहले आफ्नो गाउँपालिकामा रहेका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई चालु आर्थिक वर्षबाट नै कोषमा आवद्ध गर्ने प्रक्रिया शुरुवात गर्ने प्रतिबद्धता जाहेर गरे । त्यसका लागि गाउँपालिकाले तत्कालै सूचना जारी गरी श्रमिकबाट आवेदन माग गर्ने कार्यको थालनी गर्ने बताए ।
सो अवसरमा कोषका तर्फबाट बोल्दै उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा कोषमा आवद्ध भएकोमा ऐरावति गाउँपालिकालाई बधाई तथा शुभकामना दिए । जनताको जीवनयापनमा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरुको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको बताउँदै उनले ऐरावति गाउँपालिकाको यस अभियानले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।