
काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्री घनश्याम चौधरीलाई पार्टीबाट निलम्बन गरेकी छन् ।
पार्टी अध्यक्ष श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी गराएकी हुन् ।
पार्टीको चैत १४, १५ र २५ गतेको बैठकमा उपस्थित नभएको भन्दै चौधरीलाई पार्टीबाट निलम्बन गरिएको हो । चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक-पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘घनश्याम चौधरीलाई पार्टीले अति महत्वपूर्ण र गम्भीर विषयमा छलफल गरी निर्णय गर्नुपर्ने भनी पटक-पटक बोलाइएकोमा पार्टीलाई नै निराश गर्ने गरी बैठकमा उपस्थित नभएको र निजले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सम्बोधन गरी पठाइएको स्पष्टीकरण पत्र चितबुझ्दो नभएकाले, नागरिक उन्मुक्ति पार्टीको अन्तरिम विधान २०७८ धारा १७ (क) को २, ४ र ५ बमोजिम कार्यगरेकोले पार्टीको केन्द्रीय कमिटिको मिति चैत ३० गतेको निर्णय बमोजिम निजलाई तीन महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराउँदछु ।’