
काठमाडौं : एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । ओमानमा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो ।
मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका आशिफ शेखले सर्वाधिक ३२ रन बनाए । ३५ बल खेलेका उनले ४ चौका प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले २४ बलमा एक छक्काको सहयोगमा २८ रन बनाए । यस्तै कुशल भुर्तेलले २४ बलमा ३ चौकाको सहयोगमा २४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ११ बलमा २ चौका र एक छक्काको सहयोगमा २० रन बनाए ।
गुल्शनकुमार झा ७ बलमा एक चौका र २ छक्काको सहयोगमा १९ रनमा अविजित रहे भने सन्दीप जोरा १२ रनमा अविजित रहे । कुशल मल्ल ६ बलमा ७ रन बनाएर आउट भए । मलेसियाका वीरन्दीप सिंहले सर्वाधिक ३ विकेट लिए भने मोहम्मद वाफिक र पवनदीप सिंहले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । मलेसियाका कप्तान वीरन्दीप सिंहले अविजित रहँदै सर्वाधिक ७२ रन बनाए । ५७ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे ।
शर्विन मुनिन्दी ४१ र मोहम्मद अमिर १६ रनमा आउट हुँदा नजमुस साकिब ३ रनमा अविजित रहे । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १४ रन खर्चिए । यस्तै, अविनाश बोहराको नाममा १ विकेट रह्यो ।
नेपालको समूहमा मलेसिया, साउदी अरब, हंगकंग र कतार रहेका छन् । नेपालले शनिबार दोस्रो खेलमा कतारको सामना गर्नेछ । समूह बी मा यूएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् । ओमान र यूएईले शुक्रबार नै भएको खेलमा जित हासिल गर्दै विजयी शुरुवात गरिसकेका छन् ।
दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।