नेपाल न्युज प्वाइन्ट डटकम
आवेश र उत्तेजनाले समस्या सुल्झिदैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा नआइ संयमित ढंगले विधिअनुरुप समस्याको समाधान खोज्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उनले कांग्रेसका कारण सदन सञ्चालन अवरुद्ध भएको र विधेयक अघि बढाउने कार्य प्रभावित भएको प्रतिक्रिया दिए ।

अध्यक्ष ओलीले भने, “कांग्रेसले आक्रोस र पीडाले जेपायो त्यही बोलिरहेको छ । यसो गर्नु हुन्न । संसदीय शासन प्रणालीलाई प्रणालीकारुपमा रक्षा गर्नुपर्छ, यसको मूल्य र मान्यतालाई  संरक्षण गर्दै अघि बढ्ने कुरा गर्नुपर्छ ।” सदन अघि बढाउने, चल्ने र चलाउने विषयमा आफ्नै खाले मर्यादा र सीमा  रहेको बताउँदै एमाले संसदीय दलका नेता ओलीले पुराना अनुभवका आधारमा कमी कमजोरीलाई सच्याएर जानुपर्ने आवश्यकता औँल्याए ।

अध्यक्ष ओलीले भने, “पहिलेको सरकारको विधेयक पारित गर्न ध्यान नै थिएन, अहिलेको सरकार भरखर आएको छ । कांग्रेस तर्कमा आउँदैन । उहाँहरु ढिपी र जिद्धीमा जानुहुन्छ । त्यो तरिका सच्याउनुपर्छ ।” 

सरकारले अवरुद्ध सदनलाई सञ्चालन गर्न समन्वयकारी भूमिका निर्वाह गरिरहेको सुनाउँदै उनले बजेट र विधेयक तयारी, प्रस्तुति र छलफलको कार्यभार भएकाले अवरुद्ध सदनमै मात्रै अल्झिएर बस्ने कुरा नभएको प्रतिक्रिया दिए ।

पूर्वप्रधानमन्त्री ओलीले भने, “यतिखेर हिउँदे अधिवेशन बन्द हुनैपर्दथ्यो । पन्ध्र दिनको समयावधिपछि बजेट अधिवेशन सुरु हुनुपर्छ । जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यो अघि नीति तथा कार्यक्रम पास गर्नुपर्छ ।”  

अधिवेशन अन्त्यलाई सामान्यरुपमा लिनुपर्ने र स्वभाविक प्रक्रिया भएको उनले बताए । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफनो पार्टीले राखेको मागलाई बेवास्ता गर्दै चालु सदन अन्त्य निर्णयप्रति असहमति रहेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update