नेपाल न्युज प्वाइन्ट डटकम
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुर : मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएको छ । मधेश प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको जानकारी दिए ।

केन्द्रमा सत्तासमीकरण फेरिएसँगै तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।  उनले मुख्यमन्त्री नियुक्त भएयता यो चौथो पटक लिन लागेको विश्वासको मत हो ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जनता समाजवादी पार्टी जसपा प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवलाई नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ । 

एक सय सात सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । हाल सत्तागठबन्धन एक ठाउँमा रहे मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट बहुमत छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update