नेपाल न्युज प्वाइन्ट डटकम
नेपाल अपराजित रहँदै सेमिफाइनलमा

काठमाडौं : एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको हो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।

नेपाल एक खेलअगावै समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यसअघि नेपालले समूह चरणमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको थियो ।

८ ओभरमा घटाइएको खेलमा साउदीले दिएको ७४ रन लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि गुल्सन झाले अविजित ३२ रन बनाए । उनले १९ बलमा २ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १६ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए भने नेपालका अन्य कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर कुशल भुर्तेल शून्य र आसिफ शेख २ रनमा आउट भए । कुशल मल्ल २ रनमै आउट भएका थिए । 

साउदीका इश्तियाक अहमदले सर्वाधिक २ विकेट लिए । उस्मान नजिब र वाजी उल हसनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदीले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा ७३ बनाएको थियो ।

साउदीका अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । १६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

नेपालका करण केसी र अविनाश बोहराले २/२ विकेट लिए । ललितनारायण राजवंशी र प्रतिश जीसीको नाममा १/१ विकेट रह्यो ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update