
इलाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ मा एमालेले उम्मेदवार बनाएका युवा सुहाङ नेम्वाङलाई जिताउन यहाँका मतदाताहरुलाई अपिल गरेका छन् । इलाम क्षेत्र नं २ को देउमाई नगरपालिकास्थित मंगलबारे बजारमा आज आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले सो अपिल गरेका हुन् ।
नेकपा एमालेका यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते मृत्यु भएपछि इलाम क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको सपना पूरा गर्न पनि उनका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले सुहाङलाई मतदान गर्न आग्रह गरे ।
इलाम क्षेत्र नं २ को विकास र यहाँका नागरिकको समृद्धिका लागि सुहाङ नेम्वाङ विजयी हुनुपर्ने उनको भनाइ थियो । नेकपा एमालेले घरघरमा वृद्ध भत्ता पुर्याएको, सामाजिक सुरक्षा भत्ता वितरण गरेको र सडक निर्माणलगायत धेरै काम गरेको पनि उनले बताए ।
अध्यक्ष ओलीले एमालेले मुलुकमा कस्तो विकास गर्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदा देखाएको बताए । उनले भने, “म प्रधानमन्त्री हुँदा दुई सय १० पालिकादेखि सदरमुकाम जोड्ने सडक र तीन सय ९६ वटा पालिकामा अस्पताल बनाउन शिलान्यास गरेको थिएँ तर सरकारबाट बाहिरिएपछि ती सबै अलपत्र परेका छन् । अब अधुरा र अलपत्र कामहरुलाई आउँदो निर्वाचनसम्ममा पूरा गर्नुपर्छ ।”