नेपाल न्युज प्वाइन्ट डटकम
ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन सकिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को २४औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रको सार्थक पहलबाट मात्रै मुलुकको ऊर्जा क्षेत्रले फड्को मार्नसक्ने बताए । देशभित्र विजुलीको खपत बढाउनुपर्नेमा जोड दिँदै उनले बचेको विजुली बेचे व्यापारघाटा कम गर्न सरकार लागेको बताए । 

ऊर्जा क्षेत्रमा लगानीका लागि सहज वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आर्थिक समृद्धिको चाहना साकार पार्न वर्तमान सरकार क्रियाशील रहेको बताए । उनले भने, “आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन सरकारका प्रमुख प्राथमिकता हुन् ।”

आगामी वैशाखमा लगानी सम्मेलन आयोजना हुन लागेको जानकारी दिँदै मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन कानूनी, संरचनागत सुधारका लागि सम्बन्धित निकायसँग छलफल गरेर निष्कर्षमा पुर्‍याइने बताए । भारतसँग १० वर्षमा १० हजार मेगावाट विजुली निर्यात गर्ने सहमति भएको भए पनि आन्तरिक खपत वृद्धि गर्ने विषय नै प्रमुख प्राथमिकतामा रहेको उनले बताए । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update