
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताएका हुन् । बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भएपनि सरकार सञ्चालन गर्ने उनको आशय थियो ।
उनले अहिलेको सत्ता गठबन्धनका नेताहरु भ्रष्टाचारी कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताउँदै देश अहिले अप्ठ्यारो स्थितिमा रहेको र नेकपा एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने उल्लेख गरे ।
अहिलेको गठबन्धन देशका लागि हानिकारक रहेको भन्दै उनले समय घर्किनुअघि नै निर्णायक कदम चाल्नुपर्ने बताए ।
उनले मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको बताए ।