नेपाल न्युज प्वाइन्ट डटकम
सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा पौडेलविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पौडेलले सार्वजनिक सेवाको पदमा रहँदा १ करोड १९ लाख २४ हजार ८ सय ४६ रुपैयाँ आय आर्जन गरेको देखिएको र सोही अवधिमा २४ करोड ९४ लाख ७१ हजार १ सय ७१ रुपैयाँ खर्च गरेको देखिएको अख्तियारले दाबी गरेको छ ।

यसरी जाँचअवधिमा सिर्जित सम्पत्ति एवम् खर्च तथा लगानीहरुमा गरिएको कूल खर्च र सोही अवधिको आयहरुको आय-व्यय प्रवाह विवरणअनुसार २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बराबरको खर्च तथा लगानी (सम्पत्ति)को वैधानिक स्रोत नखुलेको अख्तियारले बताएको छ ।

पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसार कैद र बिगोबमोजिम जरिवानाको सजाय हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

साथै पौडेलले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट सहोदर दाजु अनिल पौडेलका नाममा खरिद गरेकाले जफत गर्ने प्रयोजनार्थ उनका दाजु अनिलविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update