काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लागेन भन्दै प्रश्न गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हीरक महोत्सवका अवसरमा गोदावरीमा भइरहेको समारोहमा सम्बोधन गर्दै उनले सो प्रश्न गरेका हुन् ।
सभापति देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह पनि गरे । एमालेका नेताहरु पटक-पटक प्रधानमन्त्री भएको र मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति नै भएको भन्दै देउवाले मदनको हत्यामा संलग्न पत्ता लगाउन एमालेले नै चासो नदिएको जिकिर गरे ।
देउवाले संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्ने बताए । उनले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुनिश्चित गर्न सबैको सहकार्य जरुरी भएकोमा जोड दिए ।
“नेकपा स्थापना भएको ७५ वर्ष पूरा भएको छ, त्यसमा म बधाई दिन चाहन्छु”, सभापति देउवाले भने, “नागरिकको मौलिक हक अधिकारको संरक्षण, देशमा दिगो शान्ति, सुशासनका लागि न्यूनतम सहमति र सहकार्य जरुरी छ ।”