
काठमाडौं : कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणमा आज नेपाल आउँदैछन् । उनको दुइदिने नेपाल भ्रमणलाई नेपालले श्रेणीको सुरक्षासहित सम्मन गर्दैछ । उनको सरक्षाको नेतृत्व नेपाली सेनाले गर्ने भएको छ ।
विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७मा व्यवस्था भए बमोजिम सेनाको नेतृत्वमा कतारका राजालाई अति विशिष्ट स्तर क श्रेणीको सुरक्षा प्रदान गर्न लागिएको हो ।
विशिष्ट व्यक्तिको क्लोज सेक्युरिटीमा सेनाको पार्श्ववर्ती र अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट टोली खटिनेछ ।
बाहिरी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग खटिनेछ । कतारका राजा अमिर शेखको सडकमा सवारीका बेला सबैभन्दा अग्रभागमा प्रहरी वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जीप, १८ जना आउट राइडर्स, विशिष्ट व्यक्ति, विशिष्ट व्यक्तिको पछुवा कार, फेरि आउट राइडर्स र जगेडा कार समेत रहने छ ।
आपतकालीन अवस्थाका लागि एम्बुलेन्स, प्रहरी जीप, पछुवा कार पनि उनको सवारीका बेला साथमै रहनेछन् । सेनाका स्नाइपरदेखि बम डिस्पोजल टोली पनि तैनाथ रहनेछन् ।
प्रहरीबाट उनको सवारीका बेला उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापा आफैं खटिनेछन् भने सशस्त्र प्रहरी बलले उपत्यका हेर्ने पशुपतिप्रसाद बाहिनीका प्रमुख डीआईजी पुरुषोत्तम थापालाई खटाउँदैछ । सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागको टोली पनि खटिनेछ ।
यसका अतिरिक्त नेपालस्थित कतारी दूतावासले परराष्ट्र मन्त्रालयसँग समन्वयमा छुट्टै सुरक्षा टोली पनि खटाउनेछ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नपाल आउन लागेका विदेशी विशिष्ट पाहुनाको सुरक्षा व्यवस्थापनका लागि सैनिक मुख्यालय जंगीअड्डाको अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयमार्फत पूर्वतयारी र रिहलसल पनि गरिएको थियो ।
कतारका राजा मंगलबार पौने ५ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने भए पनि बिहानैदेखि चोक–चोकमा सुरक्षाकर्मीहरु परिचालन भइसकेका छन् । कतारका राजासहितको भ्रमण टोलीलाई सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।
कतारका राजा बंगलादेशको ढाका हुँदै नेपाल आउन लागेका हुन् । उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गर्ने छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै बेलुकी भेटवार्ता हुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार भेटवार्ता गर्नेछन् । कतारको राजासहितको भ्रमण टोली बुधबार दिउँसो दुई बजे नेपालबाट फर्किने कार्यक्रम छ ।