नेपाल न्युज प्वाइन्ट डटकम
रहेनन् गायक तथा संगीतकार योगेश वैद्य, संगीतकर्मीको श्रद्धाञ्जली

काठमाडौं : गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा बिहीबार राति साढे १२ बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । वैद्य लामो समयदेखि मधुमेहबाट पीडित थिए ।

उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायतका गीतहरू लोकप्रिय छन् । उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन् । नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय छन् । 

बनस्पतीशास्त्रमा एमएससी गरेका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताएका थिए । उनी २०६१ सालमा सहसचिव पदबाट अवकाश भएका थिए ।

वैद्यलाई संगीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।

शवमा पुष्पगुच्छा अर्पण गर्दै संगीतकर्मीले नेपाली संगीतमा वैद्यले पुर्‍याएको योगदानको स्मरण गरे । वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीतकारहरु चेतन सापकोटा, बसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायतले फूलमाला समर्पण गरेर वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update