
काठमाडौं : निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याएको छ । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले शुक्रबारसम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरिसकेको जानकारी दिए ।
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछट्टै मतपत्र बनाइएको छ । प्रदेशसभा सदस्यका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन् ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङ्गको कागजमा रातो रङ्गको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्य पदका लागि यही माघ ११ गते निर्वाचन हुँदैछ । मतदानका लागि ३८ प्रकारका कूल ६ हजार ९१० मतपात्र छपाइ भएको सहायक प्रवक्ता पन्थीले बताए ।