
काठमाडौं : आज मे १ तारिक, संसारभर आ–आफ्नै तरिकाले एक सय ३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैछ। ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ दिवस मनाउन लागिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदूर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।
२०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसका दिन सार्वजनिक बिदा पनि दिन थालिएको थियो । दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरी श्रम गर्ने वातावरणसँगै रोजगारी र उत्पादनमा लाग्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले देशभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए । उनले आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनुपर्ने बताए ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार लागिपरेको बताए । उनले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताए ।
नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको बताए । श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत रहेको उल्लेख गर्दै उनले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले युवा एवम् बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको बताए ।
दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताए ।नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पनि श्रमिक दिवसका अवसरमा शुभकामना दिएका छन् ।