नेपाल न्युज प्वाइन्ट डटकम
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका लागि पहल गर्ने बताएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उनले आगामी दिनमा श्रमिक र मजदुरको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने बताए ।

“मेरो नेतृत्वको सरकारले अर्थतन्त्रले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको परिप्रेक्ष्यमा समेत मजदुर एवं श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो,” प्रधानमन्त्री दाहालले भने, “भविष्यमा न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति निरन्तर पहल गरिने विश्वास दिलाउँछु । साथै रोजगारदाता संस्थाहरूसमेत श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति लचिलो रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्दछु ।”

प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप सामाजिक सुरक्षालाई संघ वा प्रदेशको मात्र नभइ स्थानीय तहको समेत दायित्वका रुपमा लिँदै कानूनी आधार तयार गर्न लागिएको जानकारी दिए । स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्नेगरी कानुनी आधार तयार गरेको उनले बताए । 

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सम्पूर्ण नेपाली नागरिकको ‘कोखदेखि शोकसम्म’को सामाजिक सुरक्षा प्रदायक संस्थाका रूपमा समाजिक सुरक्षा कोषलाई विकास गराइने बताए । उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्‍याउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाए ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update