काठमाडौं : टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ । आजको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १२ः१५ बजे शुरु हुँदैछ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, प्रतिश जिसी, ललितनारायण राजवंशी र अभिनाश बोहरा रहेका छन् ।
यसअघि भएका तीन खेलमध्ये वेस्ट इन्डिज ‘ए’ले दुई खेल जितेको छ भने नेपाल एउटा खेलमा मात्र विजयी भएको छ । यही वैशाख १५ गते भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले दिएको दुई सय पाँच रनको विजयी लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गरेको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेलेका थिए । उनले एक सय १२ रन बनाउनुका साथै बलिङतर्फ एक विकेट समेत लिएका थिए ।
यसैगरी वैशाख १६ गते भएको दोस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग मात्र १० रनले पराजित भयो । यस्तै बुधबार भएको तेस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग फराकिलो रनअन्तरले पराजित भयो । वेस्ट इन्डिज ‘ए’ले जितका लागि नेपालसामु दुई सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरे पनि नेपाली टोली एक सय ५१ रनमै समेटियो । नेपाली टोली जित्नैपर्ने दबाबमा हुनेछ । नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको अन्तिम खेल शनिबार हुनेछ ।