नेपाल न्युज प्वाइन्ट डटकम
जापान पठाइदिन्छु भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगी

काठमाडौं : वैदेशिक अध्ययन तथा रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै २१९ जनाबाट २ करोड ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ठगीको आरोपमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौं मनहरा नगरपालिका बस्ने ३५ वर्षीय  नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र झापाका ४६ वर्षीय पर्वराज पाण्डे भन्ने इश्वरी पाण्डे रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

उनीहरू दुई जना मिलेर नियोनी एजुकेसन प्रा.लि. खोलेका थिए । त्यसको विज्ञापन गरी जापान पठाइदिने कन्सल्ट्यान्सी भनेर दुई सय १३ जनालाई ठगी गरेको प्रवक्ता रेग्मीले बताए । उनीहरुले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी नियोनी एजुकेशन कन्सल्ट्यान्सी दर्ता गरेर जापान पठाउने भन्दै एक जनाबाट ४ देखि ७ लाख रुपैयाँसम्म उठाउने गरेको पाइएको प्रहरीले जनाएको छ । नागरिकता धनी नारायणबहादुर राई भने पठाओ चालक हुन् । उनले आफ्नो नागरिकता १५/१६ वर्ष अगाडि नै हराएको भनेर प्रहरीमा बयान दिएका छन् ।

उनीहरुविरुद्ध दिप बहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रुपैयाँ लिएको, सुनिल कुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रुपैयाँ लिएको तथा वैदेशिक रोजगार विभागमा अन्य करिब १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको प्रवक्ता रेग्मीले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update