नेपाल न्युज प्वाइन्ट डटकम
गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते आइतबार विश्वासको मत लिने भएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार २३ गतेको लागि बोलाएको प्रदेश सभा बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी विषय समावेश गर्न प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराइएको छ ।

विश्वासको मत लिनेबारेको सूचना दुई दिन अगाडि नै कार्यसूचीमा समावेश गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री कार्यालयले शुक्रबार बिहानै सो निवेदन दर्ता गराएको हो ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री अधिकारीले एमालेको २२, माओवादी केन्द्रका सभामुखसहित ८  र स्वतन्त्र सांसद मनाङेको समर्थन आफूसँग रहेको जिकिर गर्दै दाबी पेश गरेका थिए । त्यसपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तर पछि निवर्तमान मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले सभामुखलाई गणना गरेर दाबी पेस गरेको भन्दै गत चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सर्वोच्च वैशाख १७ गते खारेज गरिदिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update