
काठमाडौं : सरकारले ६ जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।
सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।
लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको पशुपंक्षी विकास सचिवका रुपमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्ले पशुपंक्षीका रेवतीरमण पौडेललाई कृषि विकास सचिवको रुपमा सरुवा गरेको छ ।
यसैगरी बैठकले कृषि सचिव गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।