नेपाल न्युज प्वाइन्ट डटकम
मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि गरेको प्रस्ताव बहुमतले पारित भएको गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे । 

आजको बैठकमा मुख्यमन्त्री अधिकारीले गरेको विश्वासको मतको प्रस्तावमा ३० मत परेको छ भने विपक्षमा २७ र तटस्थ दुई मत रहेको छ । विश्वासको पक्षमा नेकपा एमालेका २२, नेकपा माओवादीका सात र स्वतन्त्र प्रदेशसभा सदस्य एक जनाले मत दिएका छन् ।  विपक्षमा नेपाली कांग्रेसका २७ जना प्रदेशसभा सदस्यले मत दिएका छन् ।

मत विभाजनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईजना सदस्य तटस्थ बसेका छन् । सर्वोच्च अदालतको आदेशलाई आधार मान्दै ३० मतलाई बहुमत घोषणा गरेपछि नेपाली कांग्रेसका सदस्यले बैठकस्थलमा नै नाराबाजी गरेका थिए । यसअघि बैठकमा मुख्यमन्त्री अधिकारीले राख्नुभएको विश्वासको प्रस्तावमा दलका नेताहरूले आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update