मोरङ : कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उनले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयबाट बुधबार राति जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि यही वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिइएको छ ।
“संविधानबमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्र्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको छ,” प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि स्वतः कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् ।
एउटा सरकार हुँदा हुँदै अर्को सरकार गठनका लागि आह्वान भएपछि सर्वोच्च अदालत जान लागेको मुख्यमन्त्री कार्कीले बताए ।