नेपाल न्युज प्वाइन्ट डटकम
जलेश्वर नगरपालिकाका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार जलेश्वर नगरपालिकाका प्रमुख सोनार, उपप्रमुख खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, अधिकृत धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवन कुमार  झा, इन्जिनियर राकेश कुमार चौधरी, सव-इन्जिनियर दिपेश कुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, जलेश्वर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष अनिल कुमार झा तथा उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह, सचिव सिकेन्द्र चौधरी  र कोषाध्यक्ष संतोषी देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

जलेश्वर-१ महोत्तरी बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पी.पी.सी. ढलान कार्यमा योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनि झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीका लागि टिप्पणी पेश तथा सदर गरी सोही आधारमा ५ लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी गरेको देखिएको अख्तियारले दाबी गरेको छ ।

उनीहरुविरुद्ध ५ लाख ८४ हजार ६३७ रुपैयाँ बिगो कायम गरी कैद सजाय र जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update